काठमाडौँ । अन्ततः नेफ्टा अवार्ड नहुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यो अवार्ड यही जुलाई २२ मा अमेरिकाको टेक्सासमा हुने भनी आयोजकले प्रचारप्रसार गरेको थियो । आयोजकले प्रचारप्रसारसँगै मनोनयन पनि सार्वजनिक गरेको थियो । 

मनोनयन सार्वजनिक पछिको भिजा प्रक्रियाप्रति आयोजकले नै चित्त दुखाई गरेर पछाडि सरेपछि अवार्ड हुने वा नहुनेमा अन्योल थियो । अब भने अवार्ड रद्द भएसँगै त्यो अन्योलको अन्त्य भएको छ । 

अवार्डको मिति अब केबल ४ दिन मात्र बाँकी छ । मिति नजिकिँदै गएपछि कलाकारको भिजा प्रक्रियालाई लिएर अवार्ड हुन नसकेको आयोजकको दाबी छ ।

अमेरिकास्थित अवार्डको स्थानीय आयोजक आर्यन फिल्मस्ले सुरुमा हात झिकेपछि अवार्ड विवादमा आएको थियो । उसले भिजाका लागि पठाइएको नाममा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्दै आपत्ति जनाउँदै हात झिकेको थियो ।