एजेन्सी । शरीरलाई सन्तुलित राख्न उचाइअनुसारको तौल आवश्यक पर्छ । धेरै मोटो हुनु र धेरै दुब्लो हुनु दुवै राम्रो होइन । पोषक तत्वको कमीका कारण मानिस दुब्लाउने हुनाले खानपानमा ध्यान दिन जरुरी हुन्छ ।

दुब्लोपन हटाउनका लागि खानपानको रुटिन यस्तो बनाउन सकिन्छ : 

क्यालोरीयुक्त खाना : लन्चमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खानुपर्छ । समयमा खाना खाने गर्नाले पनि तौल सन्तुलित हुन्छ । शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । भात, गेडागुडी, दूध, पनिरलगायत डेरीजन्य पदार्थलगायतमा उच्च क्यालोरी हुन्छ । 

काजु-बदाम : काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर हुन्छ । काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्याल्सियम पनि पाइन्छ, यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्टसमेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोगबाट समेत बचाउँछ । नियमित बदाम खाएमा पाचन शक्ति बढ्छ । 

गहुँको रोटी : नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन सहयोग गर्छ । 

प्रोटिनयुक्त पदार्थ : माछा, मासु, अन्डा, दूध आदि अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ । 

अन्डा : दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाँदा तौल बढ्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अन्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्व पुर्‍याइरहेको हुन्छ । 

केरा:  मानसिक समस्या, मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाए यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पर्याप्त पौष्टिक तत्व पाइन्छ । केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ । त्यस्तै, स्याउलगायत मौसमी फलफूल नियमित खाने गर्नुपर्छ । फलफूलको जुस पिउनु झनै उपयोगी हुन्छ ।

प्रशस्त पानी पिउने: हाम्रो शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने पनि दुब्लोपनको समस्या निम्तिन्छ । त्यसैले दिनमा डेढ लिटरदेखि साढे दुई लिटरसम्म पानी पिउनु आवश्यक हुन्छ ।