काठमाडौं । बोल्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा मुखमा कालो टेप लगाएर बसेका छन् । केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ । बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो । उनले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्न माग गरेका थिए । तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ ।
‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर बसेको छु,’ उनले भने । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो । यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरण समेत सोधेको छ ।
ढकालले सत्य उजागर गर्दा आफ्नो महामन्त्री पदको मृत्यु समेत हुनसक्ने बताएका थिए । महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो । यसैबीच रास्वपाले परिवर्तित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्दैछ । सोमबार राति नेपाली (कांग्रेस) र नेकपा (एमाले) का बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।
सहमतिअनुसार नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार साँझसम्मको समय मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त नगर्ने र सदनबाट विश्वासको मत लिने बताइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मंगलबार सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले रास्वपा कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने निर्णय गरेको थियो । यसबारे पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।















