कैलाली । केन्द्रमा दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन बनेसँगै प्रदेश सरकारको पनि समीकरण पनि फेरबदल हुने भएको छ । संघीय सरकार निर्माणको समीकरण फेरबदलले प्रदेश सरकारमा पनि नयाँ गठबन्धन बन्न लागेको हो ।
प्रारम्भिक मस्यौदामा एमालेले कोशी, लुम्बिनी र कर्णाली, कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख छ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिममा पनि नयाँ सरकार गठनका लागि गृहकार्य अगाडि बढेको छ । मंगलबार राति कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच संयुक्त सरकार बनाउने विषयमा छलफल भएको छ ।
हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । सुदूरपश्चिममा मुख्यमन्त्री चयनको विषयलाई लिएर सुरुदेखि नै एमाले र एकीकृत समाजवादीबीच खटपट छ । छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने सल्लाह भएको रावल बताए ।
उनले भने, ‘केन्द्रमा नयाँ गठबन्धन बनिसकेको छ । सोहि अनुसार हामीले प्रदेशमा बनाउने विषयमा सकारात्मक छलफल भयो । अब केन्द्रको म्याण्डेट अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने, उहाँले राजीनामा नदिए एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको छ ।’
रावलले कांग्रेस र एमालेको संयुक्त सरकारले जनताको मर्म र भावना अनुसार सुशासन र विकास निर्माणलाई अगाडि बढाउने जानकारी दिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । दुई दलमिल्दा बहुमत रहेको छ । सुदूरपश्चिममा माओवादीको ११, एकीकृत समाजवादीको ४, नागरिक उन्मुक्तिको ७ सिट छ । स्वतन्त्र र राप्रपाको एक–एक सिट छ । उनीहरुले केन्द्रको निर्देशन आउने बित्तिकै थप कदम चाल्ने बताएका छन् ।


















