काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता राजन भट्टराईले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा आनाकानी गर्न नहुने बताएका छन् । आज (बिहीबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बीआरआईबारे काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले नेपालले सम्झौता गरिसकेकाले पछाडि हट्न नसकिने बताए । 

एमालेको विदेश विभाग प्रमुख समेत रहेका भट्टराईले भने, ‘बीआरआईमा हामीले सम्झौता गरिसकेका छौं । सहमति भइसकेको विषयमा अब म काम गर्दिनँ भन्न मिल्छ ? नजिकको छिमेकी, राइजिङ पावर । त्यो अवस्थामा हामी सहमति गरिसकेको कुराबाट पछाडि हट्न हामी कदापी सक्दैनौं ।’

बीआरआईमा ७ वर्षअघि सम्झौता भएको र अहिले त्यसको कार्यान्वयनबारे चीनले सम्झौता गर्न प्रस्ताव गरेको भन्दै उनले भने, ‘बीआरआईमा पहिले सम्झौता भयो । त्यसपछि फ्रेमवर्क सम्झौता भएको छ । अब कार्यान्वयन योजनामा जाऊँ भनेर चीनले प्रस्ताव गरिरहेको छ । हामीले त्यसमा आनाकानी गरिरहेको मैले पाएको छु ।’

बीआरआईलाई अगाडि बढाउन खोज्दा प्रचण्ड नेतृत्वको सरकारको क्याबिनेट बैठकमा विवाद भएको जानकारी आफूले पाएको भन्दै भट्टराईले बीआरआईलाई खेलाँचीका रूपमा नलिन आग्रह गरे । ‘अघिल्लो सरकार (प्रचण्ड नेतृत्वको सरकार) ले त्यसलाई अघि बढाउन खोज्दा क्याबिनेटभित्रै विवाद भएर अगाडि बढ्न सकेन भन्ने कुरा हामीले सुनेका छौं,’ उनले थपे, ‘बीआरआईलाई हामीले त्यस्तो खेलाँचीका रूपमा नलिऊँ ।’