काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँका आधारमा अघि बढ्नु पर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेको उल्लेख गरे । त्यसलाई सम्मान गर्दै अब नयाँ विचारका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले दुई–चार जना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने टिप्पणी गरेका छन् । नयाँ र सही विचारका आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने उनले बताए । सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्ति विस्तारै हराउँदै जाने उनको भनाइ छ । भट्टराईले सुगौली सन्धिदेखि खुला सीमानामा कारण अर्थतन्त्रमा भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । असमान सन्धिलाई नसच्याएसम्म नेपालको विकास नहुने उनले उल्लेख गरे ।