इटहरी । मोरङको सुन्दरहरैँचा स्थित युवा कवि सिजन श्रेष्ठको कविता संग्रह 'हावामा अल्झिएको स्वर' लोकार्पण गरिएको छ ।
सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा सुन्दरहरैैचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए।
सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचा नगरपालिकामा कार्यरत छन्। संग्रहमा ५३ वटा कविताहरू समावेश छन्, जसको समीक्षा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले गरेका थिए। समीक्षकहरूले संग्रहमा रहेका कविताहरूको उत्कृष्टता र विषयवस्तुको गहिराइको प्रशंसा गरेका छन्। ती कविताहरूमा प्रकृति प्रेम, माया पिरती, गरिबी, र परदेशिनुको पीडालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
कवि श्रेष्ठले आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको बताए। उनले यस कृतिमा आफ्नो पारिवारिक परिवेश र बुवा आमाबाट प्राप्त प्रेरणालाई समेटेका छन्, र सानै उमेरदेखि लेखनमा लागिपरेको खुलासा गरेका छन्। कविताहरूमा गहिरो अर्थ र सुन्दर शब्द संयोजन पाइने कुरा पनि समीक्षकहरूले व्यक्त गरेका छन्।


















