- भोजराज घिमिरे 

विराटनगर – नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी र पहिरोका कारण दसैंमा घर आउन नसकेका नागरिकहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश समितिका प्रवक्ता यदु विष्टले दसैंको अवसरमा बाटो अवरुद्ध भएर घर फर्कन नसकेका नागरिकहरूलाई सहज यात्रा व्यवस्था मिलाउन सरकारलाई तत्काल पहल गर्न अनुरोध गरे।

कांग्रेसले अवरुद्ध सडकहरूको शीघ्र मर्मत र सञ्चालनको व्यवस्था गर्नुपर्ने माग गरेको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई विशेष राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ। विष्टले अहिलेको जटिल परिस्थितिमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रिय रहन अनुरोध गरे।

यसबाहेक, कांग्रेसले देशभर बढ्दै गएको कालोबजारी, महंगी, र भ्रष्टाचारप्रति ध्यानाकर्षण गराउँदै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।