काठमाडौँ, असोज १८ – नेपालीहरुको महान् चाड बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आज घटस्थापनाको दिन, घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश, र गणेश स्थापना गरी दुर्गा देवीको आराधना थालिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ।

घटस्थापनाका लागि गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा पवित्र नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा अथवा माटोमा विधिपूर्वक जौ छरी जमरा राखिन्छ। मान्यताअनुसार जौको अंकुर देवी दुर्गाको प्रिय वस्तु हो, जसलाई विजया दशमीको दिन टीका प्रसादसहित ग्रहण गरिन्छ।

यस पर्वको क्रममा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा देवीको पूजा गरिन्छ। घटस्थापनामा शक्तिस्वरूपा दुर्गाको विशेष पूजन गरिने भएकोले यस दिनलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार जौ बाहेक गहुँ र मकै पनि कतिपय ठाउँमा जमरा राख्ने परम्परा भए पनि शास्त्रीय विधिमा यसको उल्लेख छैन।

बडादशैंको यो परम्पराले धार्मिक आस्था र सांस्कृतिक महत्व झल्काउँदै समाजमा समृद्धि र एकताको भावना फैलाउने विश्वास रहेको छ।