इटहरी । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ ‘रेकर्ड’ बनाएको छ । आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो ।


















