विराटनगर – विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगर–७ स्थित इको पार्कमा रोजगार मेला सुरु भएको छ। मेलाको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गरेका हुन्। वैदेशिक पलायन रोक्न र युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले यो मेला आयोजना गरिएको हो।
मेयर कोइरालाले दुई दिने मेलाबाट करिब ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गर्दै रोजगारदाताहरूसँग युवालाई जोड्न महानगरले पहल गरेको बताए। उनले गत वर्ष आयोजित मेलाबाट १ सय ९७ जना रोजगारमा समावेश भएको स्मरण गर्दै यसपटक ४ सयभन्दा बढी युवाले रोजगारी पाउने अनुमान रहेको जानकारी दिए।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगारदाताहरू र रोजगार खोजिरहेका युवाहरूलाई एउटै थलोमा ल्याएर पुलको काम मेलाले गरेको बताइन्।
मुख्य आकर्षण र रोजगारीका अवसर
रोजगार मेलामा ३० भन्दा बढी स्टल राखिएको छ। यस वर्ष सबैभन्दा बढी माग स्टाफ नर्सको रहेको छ। नोबेल अस्पताल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल र न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी नर्सको माग गरिएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए।
नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल र रिसेप्सनिष्ट लगायतका क्षेत्रमा पनि माग आएको छ। थापाका अनुसार, स्टल राखेका रोजगारदाताबाट ४ सयभन्दा बढी रोजगारको माग गरिएको छ भने मेलामा २ हजारभन्दा बढीले आवेदन दिएका छन्।
दक्ष जनशक्तिको अभाव
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव रहेको भन्दै भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए। उनले उद्योगहरूमा विदेशी जनशक्ति काम गरिरहेको उल्लेख गरे।
गत वर्षको तुलनामा मेलाको बृद्धि
गत वर्ष आयोजित रोजगार मेलामा ३२ वटा स्टल सहभागी थिए र १ सय ९७ जनाले रोजगारी प्राप्त गरेका थिए। मेलामा ३ हजार २ सयले अवलोकन गरेका थिए। यस वर्ष मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।
सहभागीहरूको उत्साह
रोजगार मेलामा युवाहरूले आफ्नो सीप र दक्षताअनुसार रोजगारदाताहरूसँग परामर्श गरिरहेका छन्। विभिन्न संस्थाले रोजगारका लागि तात्कालिक आवेदन समेत संकलन गरिरहेका छन्।
महानगरले यसरी प्रत्येक वर्ष रोजगार मेला आयोजना गर्दै बेरोजगार र रोजगारदाताबीच समन्वय गर्ने कामलाई निरन्तरता दिइरहेको छ।


















