विराटनगर, – सहकारी क्षेत्रमा देखिएको हालको संकटबारे प्रभावकारी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले बिहीबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ विराटनगरमा आयोजित उक्त कार्यक्रममा सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा, वित्तीय व्यवस्थापन, र यसको मूल उद्देश्यबारे जानकारी दिइएको थियो।

कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण प्रदान गर्दै सहकारी संस्था वचत तथा ऋण कारोबारमा मात्र सीमित नरहेको बताउँदै यसको मूल उद्देश्य सदस्यहरूलाई स्वावलम्बी बनाउनु रहेको स्पष्ट पारे। उनले सहकारीको पारदर्शिता, वित्तीय अनुशासन, र सञ्चारमाध्यमको भूमिकाबारे पनि प्रकाश पारे।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सहकारीसम्बन्धी रिपोर्टिङको अनुभव साझा गर्दै यस प्रकारको तालिम सञ्चारकर्मीहरूका लागि उपयोगी हुने धारणा व्यक्त गरिन्। त्यस्तै, सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दीपक दाहालले कार्यक्रम उपलब्धिमूलक भएको उल्लेख गर्दै सञ्चारकर्मीहरूले सहकारीको यथार्थ चित्रण गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सहकारीसम्बन्धी समाचारलाई तथ्यमा आधारित बनाउने विषयमा प्रशिक्षणबाट महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाका अनुसार सहकारीबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिनेछ।