इटहरी-  देशको सार्वजनिक यातायात प्रणालीलाई हरित र दिगो बनाउने लक्ष्यका साथ, एरिना समूहले ईटहरीलाई केन्द्रीय केन्द्र बनाएर १०० वटा विद्युतीय (ईभी) सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भएको  छ।

यो पहल नेपालको पूर्वी क्षेत्रमै पहिलो ठूलो स्तरको ईभी सार्वजनिक यातायात आयोजना हो। एरिना समूहका अनुसार, आधुनिक सुविधासहितका यी गाडीहरूले यात्रुलाई स्वच्छ, शान्त र दिगो यात्रा अनुभव दिनेछन्।

समूहका प्रबन्धक समिर कार्कीले बताएका छन्, “हामी जलवायु परिवर्तन विरुद्धको अभियानमा योगदान दिने तथा देशको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं।”

ईभी सवारी सञ्चालनसँगै चार्जिङ स्टेशनहरू, मेन्टेनेन्स केन्द्रहरू तथा आवश्यक पूर्वाधारको निर्माण पनि एरिना समूहले ईटहरी क्षेत्रमै गर्ने योजना बनाएको छ।

स्थानीय निकाय तथा सरकारसँग सहकार्य गर्दै, परियोजनाले रोजगारी सिर्जना गर्ने, वायु प्रदूषण घटाउने र समग्र सार्वजनिक यातायात प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।