बर्दिवास - शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको विशेष कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१” प्रदान गरिएको छ। रु. १५,५५५ राशिको यो सम्मान उनले साहित्य, शिक्षा र समाजसेवामा पुर्याएको योगदानका लागि दिइएको हो।
३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य शारदा थापा थिइन् भने सभापतित्व प्रेम घिमिरे ‘अग्नि कवच’ले गरेका थिए।
कार्यक्रममा भारतबाट आएका लेखक कामरुदिन नदाफले दुई विशेष क्षमता भएका विद्यार्थीलाई जनही रु. ५५५५ सहयोग गरेका थिए भने मिना देवकोटाले सुस्मिता कट्वाललाई रु. २५५५ छात्रवृत्ति प्रदान गरिन्।
तीन प्रदेशका साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा गीत, गजल र कविता वाचन प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई लम्बोदर काफ्ले, विष्णु खड्का र शारदा थापालगायतले सम्बोधन गरे। सञ्चालन नारद काफ्ले र स्वागत भिमकुमार राउतले गरेका थिए।
बर्दिवासको विनायक ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रम साहित्यिक उत्सवका रूपमा सफल भयो।


















