इटहरी — विश्वकप लिग–२ मा संघर्ष गरिरहेको नेपाली क्रिकेट टिम आज नेदरल्याण्ड्ससँग स्कटल्याण्डको डुनडीमा भिड्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै आत्मविश्वास बढाएको नेपालका लागि आजको खेल निर्णायक सावित हुन सक्छ। अहिलेसम्म नेपाल र नेदरल्याण्ड्सबीच भएका ५ एकदिवसीय खेलमध्ये नेपालले २ जितेको छ भने ३ खेल नेदरल्याण्ड्सले जितेको छ।
१३ खेलबाट ८ अंकसहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ। अमेरिका २८ अंकसहित शीर्ष स्थानमा रहेको छ।
आज मैदानमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी लगायतका खेलाडी उत्रने छन्।
लिग–२ सकिएपछि नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि हुनेछ, जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ।


















