मोरङ — कृषिमा यान्त्रीकरण र आधुनिकीकरण प्रवर्द्धन गर्ने उद्देश्यसहित मोरङको रतुवामाई नगरपालिकाले १ करोड १० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ।
बुधबार रतुवामाई–७ मा आयोजित एक समारोहका बीच उक्त उपकरणहरू ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको साझेदारीमा वितरण गरिएका हुन्।
IMG-20250604-WA0022
कार्यक्रममार्फत नगरपालिकाका १० वटा वडामा रहेका १६० कृषक समूह तथा कृषिफर्महरूलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको हो। वितरण गरिएका उपकरणहरूमा १५० थान च्यापकट्टर मेसिन, २० थान स्प्रे ट्यांकी, ११२ थान मकै छोडाउने मेसिन र १६५ थान मकै रोप्ने मेसिन समावेश छन्।
उपकरण हस्तान्तरण नगरप्रमुख नागेश्वरप्रसाद सिंह र प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद बरालले गरेका थिए। नगरप्रमुख सिंहका अनुसार ‘कृषि यान्त्रिकरण प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत कृषिलाई व्यावसायिक रूपान्तरण गर्दै उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
IMG-20250604-WA0043
“यस किसिमको सहकार्यबाट कृषिमा यान्त्रिकरणको विस्तार हुँदै जान्छ र किसानलाई आधुनिक प्रविधिमा सहज पहुँच मिल्छ,” उनले बताए।
नगरपालिकाले वितरण गरेको उपकरणले कृषिमा सहजता ल्याउने, श्रम लागत घटाउने तथा उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।