इटहरी । सरकारले जेन जी आन्दोलनका कारण असहज परिस्थिति भएको भन्दै साउन महिनाको राजस्व विवरण बुझाउने समय एक महिना थपेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्न मङ्गलबार मन्त्रीस्तरीय निर्णय भएको बताएका छन् । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको बताइएको छ ।
एक महिना समय थपिएको जानकारी सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचारमार्फत् गरिसकिएको छ ।
अब साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण असोज २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने भएको हो ।
अघिल्लो महिनाको राजस्व पछिल्लो महिनाको २५ गतेभित्र बुझाइसक्नेपर्ने नियम छ ।

















