शेयर बजार बुधबार १ दशमलव ०३ प्रतिशतले झरेको छ । दशैं नजिकिएकाले खर्चको जोहो गर्न लगानीकर्ताले बिक्री चाप बढाएको अनुमान गरिएको छ । बुधबार नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल समूह र सामुहिक लगानी कोष समूहबाहेक सबै समूहमा रातो पोतिएको छ । अन्य समूह सर्वाधिक अर्थात् २.१६ प्रतिशतले घटेको छ ।

बुधबार युनियन हाइड्रोपावरको सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार घटे पनि आज माथिल्लो मैलुङखोला जलविद्युत, सिटी होटल्स र हिमस्टार उर्जाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ५.३८ प्रतिशतले घटेको छ । राप्ती हाईड्रोको शेयरमूल्य पनि आज ४.६३ प्रतिशत, बुटवल पावरको ४ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ३.९७ प्रतिशतले घट्यो ।