इटहरी । सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पु¥याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले बताए ।
कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विगतका वर्षमा पनि यस्ता छलफल हुने गरेकामा यस वर्ष अझै बढी महत्त्वका साथ आयोजना गरिएको हो । सुनचाँदी पसल, उद्योग–व्यापार गर्नेहरूलाई भयरहित व्यापारिक वातावरण सुनिश्चित गर्न सुरक्षा निकायको भूमिका अपरिहार्य हुने सरोकारवालाहरूले धारणा राखेका थिए ।
बैंकिङ क्षेत्रमा दुई दर्जनभन्दा बढी संस्था रहेका र सहकारी पनि धेरै भएकोले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि राखिएको थियो ।
सशस्त्र प्रहरी बल सलकपुरका प्रमुख नवीन बानियाँले अघिल्ला वर्षभन्दा यस वर्ष चोरीका गतिविधि बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउनुपर्ने बताए । त्यस्तै व्यवसायी तथा पूर्व अध्यक्ष गोपाल थापाले सुरक्षाकर्मीलाई पनि आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र सुरक्षाबाट जनतालाई निर्धक्क बनाउनुपर्नेमा जोड दिए ।
पूर्व अध्यक्ष नवराज चापागाईंले सडक बत्ती र सिसि क्यामेरा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा पनि उद्योग वाणिज्य संघ सक्रिय हुनुपर्ने धारणा राखे । समाजसेवी सुरेन्द्र बहादुर थापाले यस पटक सुरक्षा पक्षलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने भन्दै कवाडी व्यवसायीहरूले संकलन गर्ने सामान चोरी वा लुटपाटको त होइन भनेर सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष विवेक न्यौपानेले सुनको मूल्य बढेका कारण व्यवसायमा सुरक्षा जोखिम बढेको भन्दै व्यवसायीहरूले समयमै पसल बन्द गर्नुपर्ने र सिसि टिभी मर्मत गर्नुपर्ने बताए । सुन्दर होटल व्यवसायी संघका अध्यक्ष उत्सव थापाले समय निर्धारण गरेर मात्र होटल सञ्चालन गर्न सहजीकरण गर्ने बताए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्णबहादुर खत्रीले नेपाल प्रहरीको मनोबल घटेको छैन भन्दै अपराधिक गतिविधि गर्नेहरूको सिसि टिभी फुटेज र सामाजिक सञ्जालमार्फत अनुसन्धान गरी कारबाही अघि बढाइने जानकारी दिए । उनले विराटचोक प्रहरी बिट दुई दिनमै तयारी पूरा गरेको उल्लेख गर्दै समाजमा सकारात्मक सोच भएका व्यक्तिहरू पनि भएकाले व्यवसायीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गरे ।


















