जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पुर्वसंसद ज्ञानबहादुर शाहीले पनि मनोनयन दर्ता गराएका छन् । राजसंस्थाको बारेमा वकालत गर्दै आएका शाही यस पटक भने दोहोरिने सम्भावना न्यून रहेको पाइएको छ । चुनावी मैदानको अवस्थालाई हेर्दा यस पटक शाहीले भने अनुसार मत नपाउने बुझिएको हो ।
जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित राजनीतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् । नयाँदलको समेत प्रभावकारीता रहेकाले यस पटक पुराना दल र शाहीको सम्भावना न्यून बनेको हो ।
उम्मेदवारले आआफ्नै भावी कामका विषयमा एजेन्डा अगाडि सारेका छन् । नेपाली कांग्रेसका तर्फबाट पूर्वसभापति दीपबहादुर शाही, नेकपा (एमाले) बाट जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टीबाट संविधान सभा सदस्य नरेश भण्डारी, राप्रपाका प्रवक्ता तथा विघटित प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाही, रास्वपाका केन्द्रीय नेतृ तथा विघटित प्रतिनिधि सभा सांसद विनिता कठायतको उम्मेदवारी परेको छ ।
यसै गरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट बिर्खबहादुर रावत, विप्लव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी माओवादीका तर्फबाट बिर्खबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, जनमत पार्टीका तर्फबाट रनिलविक्रम शाहीले उम्मेदवारी दिएका छन् । यसै गरी भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सिँजा सभ्यताको कानुन बनाउनेदेखि लिएर स्याटेलाइट अस्पताल बनाउनेसम्मका आफ्ना एजेन्डा उम्मेदवारले राखेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले आफू निर्वाचित भएर गएपछि केही ठोस कामसहित आधारभूत काम अगाडि सार्दै आएका हुन् । सिँजा सभ्यता विकास तथा संरक्षण विधेयक अगाडि बढाई कानुनबाट खस सभ्यता र सिँजा सभ्यताको समग्र विकास गर्ने एजेन्डा उनले अगाडि सारेका छन् ।
यस्तै यहाँको तिला नदीमा ७२ मेघावाटको बिजुली अगाडि बढाउने, मानव विकास सूचकाङ्क, जनसङ्ख्या साथै भूगोल, दुर्गमता र विकासको अवस्थाका आधारमा बजेट विनियोजनका कानुन बनाउन पहल गर्ने, कर्णाली राजमार्ग, नाग्म गमगढी–चीन जोड्ने सडक स्तरवृद्धि गर्न पहल गर्ने, जुम्ला–जाजरकोट सुरुङमार्ग र सडक, जुम्ला–डोल्पा–मनाङ मुस्ताङ, हिमादेखि पलाता क्षेत्रका सडक र अन्तरजिल्लाका आवश्यकताका सडकमा प्राथमिकता दिने एजेन्डा उनले राखेका छन् ।
साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धिमा जोड दिने, युवाको खोज अन्वेषणका लागि नवप्रवर्तन तथा आविष्कार विधेयक, कर्णालीमा पर्वतीय विश्वविद्यालयसहितका एजेन्डा पनि राखिएको छ । यसै गरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले सुर्खेत–जुम्ला राजमार्गको स्तरोन्नति गर्ने, नाग्म–गमगढी राजमार्गको स्तरोन्नति गर्ने, जुम्ला–जाजरकोट, जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडकमा प्राथमिकता दिने एजेन्डा अगाडि सारेका छन्।
यसै गरी राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले अहिले पनि नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दलका मतदाताले यस पटक पनि आफूलाई मत दिएर विजयी बनाउने दाबी गरेका छन्। उनले अहिले निर्वाचनमा यसो गर्ने, उसो गर्ने भनेर धेरै एजेन्डा नबोक्ने तर निर्वाचित भइसकेपछि काम गर्ने बताए । यता नेकपा (एमाले) का जिल्ला अध्यक्ष शान्तिलाल महतले सिँजा क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने, छिन्चु–जाजरकोट जुम्ला सडक, जुम्ला–पलाता सडकको निर्माण गर्ने घोषणा गरे।
रास्वपाका उम्मेदवार तथा विघटित संसद्का सदस्य विनिता कठायतले अघिल्लो कार्यकालमा पनि देशका धेरै कानुन निर्माणका लागि सहयोग गरेको यस कार्यकालमा पनि सहयोग गर्ने बताउनुभयो । उनले सांसदको पहिलो काम कानुन र नीति बनाउने हो भन्दै अब कर्णालीकेन्द्रित कानुन निर्माणमा जोड दिने बताए ।

















