दुलारीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ । मनोनयन दर्ताका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा कांग्रेस नेता चुमनारायण तबदार, डिला संग्रौलालगायत घाइते भएको बताइएको छ ।
सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा आज मनोनयन दर्ता गर्ने क्रममा झडप भएको बताइएको छ । केही समय तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
घटनाको वास्तविक कारण, झडपमा संलग्न पक्ष तथा निर्वाचन प्रक्रिया पुनः सञ्चालनबारे सम्बन्धित निर्वाचन समितिबाट औपचारिक जानकारी आउन बाँकी छ ।
उता, मोरङ क्षेत्र नम्बर ३ को अधिवेशनअन्तर्गत हिजो स्थगित भएको मतदान आज सुन्दरहरैंचाको जेसीज भवन विराटचोकमा भइरहेको छ । कडा सुरक्षाबीच निर्वाचन भइरहेको छ । भवनबाहिरै लामबद्ध भएर चर्काे घाममा उभिएर कार्यकर्ता मतदानमा भाग लिइरहेका छन् ।


















