इटहरी - सुनसरीको इटहरीमा तमु (गुरुङ) समुदायको महान पर्व म्हां ङी त्हे (माङी पर्व) भव्य रूपमा मनाइएको छ। तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगिता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ तथा केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ र बलिमान गुरुङको सहभागिता रहेको थियो। साथै कोशी प्रदेश अध्यक्ष होम घले, आदिवासी जनजाति महिला महासंघ कोशी प्रदेश अध्यक्ष माया राई, जिल्ला अध्यक्ष दिलिप गुरुङ तथा विद्यार्थी परिषद्का केन्द्रीय पार्षद सदस्य बिरेन गुरुङ लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादामाला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। तमु परम्पराअनुसार “सात आमाहरूको सृष्टि दिवस”का रूपमा मनाइने यस पर्वले मातृ–अस्तित्व, प्रकृति, भाषा र संस्कृतिप्रतिको श्रद्धालाई उजागर गर्दै तमु पहिचान संरक्षण र एकताको सन्देश दिएको आयोजकहरूले बताएका छन्।