विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित सात घुम्तीमा रहेको एक ट्रान्सपोर्टबाट प्रहरीले साढे ७ लाख मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार जेबी ट्रान्सपोर्टमा छापा मारी उक्त सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त ट्रान्सपोर्टमा राखिएको लत्ताकपडाहरूको बिल बिजकमा कम मूल्याङ्कन गरिएको र अनिवार्य रूपमा हुनुपर्ने भीसीटीएस बिलसमेत नभएको पाइएको छ। सेतो प्लास्टिकको बोरामा प्याक गरिएको २० पोका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानको अन्दाजी बजार मूल्य ७ लाख ३० हजार रुपैयाँ रहेको छ। उक्त सामानहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको प्रहरीले बताएको छ ।