भरतपुरः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका बताउनुभयो । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो ।
गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो ।
यस कम्प्लेक्सलाई ९५८ वटा ग्रीड बनाएर बाघ गणना गरिएको थियो । ती ग्रीडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताउनुभयो ।
उहाँका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रीड बनाएर गणना गरिएको हो ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।


















