काठमाडौंः पुनः श्रम स्वीकृतिको आवेदन दिएकै दिन स्वीकृति पाइने गरी वैदेशिक रोजगार विभागले क्यू फ्री गरेको छ । 

श्रममन्त्री दीपककुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै आइतबार आवेदन दिएकै दिन श्रम स्वीकृति दिने निर्णय गरेका थिए । 

अहिले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन कार्यालय धाउन पर्दैन, अनलाइनबाटै लिन पाइन्छ । तर, यसका लागि तोकिएको कागजात भने पूरा गर्नुपर्छ । पुनः श्रम स्वीकृतिका लागि पासपोर्ट साइजको फोटो, राहदानी, भिसाको स्क्यान कपी, अध्यागमनले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान आवश्यक पर्छ ।

यसका साथै वैदेशिक रोजगार म्यादी बीमा गर्नुपर्छ भने सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेर वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा समेत पैसा जम्मा गर्नुपर्छ । यति सबै प्रक्रिया पूरा गरेर आवेदन दिएपछि अब आवेदन दिएकै दिनमा अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति पाइने भएको हो । टोकन प्रणाली हटाइएको हो ।