इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ ।
आज बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ । गत २४ घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएको छ ।
विभागका अनुसार जाजरकोटमा ६८.६ मिलिमिटर, रोल्पाको लिवाङ गाउँमा ६६ मिलिमिटर, सुर्खेतको खानीखोलामा ६४.८ मिलिमिटर वर्षा मापन भएको छ । अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















