विराटचोक। नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. ६ को निर्वाचन प्रक्रियाका क्रममा भएको विवादबारे क्षेत्रीय सभापति देवराज तामाङसहितले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ–६ को निर्वाचनका लागि सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठान सामुदायिक भवन, बाँसबारीमा निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा विवाद उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ। क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रमका लागि क्षेत्रीय समितिले उक्त स्थान निर्धारण गरेको जनाइएको छ।
विज्ञप्तिअनुसार निर्वाचन प्रक्रिया प्रारम्भ हुनुअघि केही व्यक्तिबाट कार्यकर्तामाथि अभद्र व्यवहार तथा विवाद सिर्जना भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौला निर्धारित समयमा उपस्थित हुन नसकेपछि निर्वाचन प्रक्रियामा सहभागी कार्यकर्तामाझ असन्तुष्टि बढेको दाबी विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा उक्त घटनालाई योजनाबद्ध आक्रमण, हिंसात्मक गतिविधि तथा रड प्रहारका रूपमा प्रस्तुत गरिएको प्रचारप्रति पनि आपत्ति जनाइएको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गरिएको प्रचार घटनाको वास्तविकतासँग मेल नखाने दाबी गरिएको छ।
त्यस्तै, घटनामा संलग्न व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको भन्ने आरोपसमेत निराधार रहेको विज्ञप्तिमा उल्लेख छ। घटनाका क्रममा केही कांग्रेस कार्यकर्ता घाइते भएको स्वीकार गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
घटनाको सम्पूर्ण पृष्ठभूमि र त्यसबाट उत्पन्न परिस्थितिलाई बेवास्ता गर्दै क्षेत्रीय सभापति देवराज तामाङ तथा उहाँसँग सम्बन्धित समूहलाई मात्र दोषी देखाउने प्रयास भएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ।
विज्ञप्तिमा कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले जारी गरेको विज्ञप्तिमा समेत क्षेत्रीय सभापति तामाङ तथा उहाँद्वारा परिचालित समूहबाट आक्रमण भएको भन्ने आशय राखिएको भन्दै त्यसलाई खण्डन गरिएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारीमा रहेका व्यक्तिमाथि नै घटनाको मुख्य जिम्मेवारी थोपर्नु उचित नभएको दाबी गरिएको छ।
कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा असहमति र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, रोकिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गरी पार्टी विधान, निर्वाचन निर्देशिका तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अधिवेशन सम्पन्न गराउन पार्टी सभापति, केन्द्रीय निर्वाचन समिति तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा प्रदेश सभापति दीपक भगत र क्षेत्रीय सभापति देवराज तामाङको हस्ताक्षर रहेको छ