इटहरी । मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराई एक महिलामाथि जबरजस्ती करणी गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ की २५ वर्षीया सोनुमा लिम्बुले एक महिलालाई नशालु पदार्थ सेवन गराएर लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा पुर्याएकी थिइन्। त्यसपछि ज्यान मार्ने धम्की दिँदै ती महिलामाथि जबरजस्ती करणी गराइएको बताइएको छ ।
रिसोर्टमा पुर्याइएकी महिलामाथि सुन्दरहरैँचा नगरपालिका–१० का डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ। सो घटनामा मोरङको केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगर पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सोनुमा लिम्बु, कमलबहादुर आले मगर र डम्बर खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूविरुद्ध जबरजस्ती करणी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, पीडितको स्वास्थ्य परीक्षण, बयान तथा अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।


















