इटहरी । जुम्ल्याहा शिशु जन्मसँग सम्बन्धित दुर्लभ घटना जर्मनीको ब्रेमेन शहरमा भएको सार्वजनिक भएको छ । २६ मिनेटको अन्तरमा जन्मिएका दिदीबहिनीको जन्म मिति भने फरक दुई महिनामा भएको छ ।
अस्पतालका अनुसार पहिलो शिशु मीरा जुलाई ३१ तारिखको मध्यरातमा जन्मिएकी थिइन् । त्यसको २६ मिनेटपछि दोस्रो शिशु यारा जन्मिए पनि उनको जन्ममिति भने अगस्ट १ हुन पुग्यो ।
यसरी एउटै प्रसूति प्रक्रियाबाट जन्मिएका जुम्ल्याहा शिशु फरक महिना र फरक गतेमा जन्मिएर दुर्लभ विश्व रेकर्ड बनिएको हो ।
चिकित्सकहरूका अनुसार दुवै शिशु पूर्ण रूपमा स्वस्थ अवस्थामा जन्मिएका छन् । आवश्यक स्वास्थ्य परीक्षणपछि आमा र नवजात शिशुलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।
विशेषज्ञहरूका अनुसार जुम्ल्याहा शिशु जन्मिँदा केही मिनेटदेखि केही घण्टासम्मको अन्तर हुनु सामान्य हो । तर छोटो समयको अन्तरमा जन्मिए पनि फरकफरक महिनामा जन्मिएका हुनाले यसलाई दुर्लभ घटना मानिएको छ ।


















