काभ्रेः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो ।
निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको हो । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ भदौ १० गते सम्झौता भएको थियो ।
२०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र परेको हो ।
समयसीमाभित्र काम नगरेपछि पछिल्लो पटक २०८१ वैशाख २० गते विभागीय निर्णयअनुसार २३ महिना २५ दिन म्याद थप गरिएको थियो ।
निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगर्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ११ करोड ७ लाख ४२ हजार २०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
हालसम्म पुलका तीन वटा पिल्लर उठाउनुका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ ।

















