इटहरी । साताको अन्तिम कारोबार दिन हिजो शेयर बजार मापक नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर ५२ हजार ४४ पटक किनबेच हुँदा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँको शेयर किनबेच भएको छ ।
सबै समूहका उपसूचकमा हरियाली छाउँदा सबैभन्दा बढी बैंकिङ समूह १.२८ प्रतिशतले बढेर १५१७ विन्दुमा पुगेको छ ।
राम्रो बोनस घोषणा गरेको कुथेली बुखरी स्मल हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ४.९१ प्रतिशतले बढेको छ । बिहीबार सो कम्पनीको शेयरमूल्य १५ प्रतिशत बढेको थियो ।
बोनसका लागि बुक क्लोजपछि कारोबार खुलेको पहिलो दिन शुक्रबार रिज लाइन इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक अर्थात् ७.८५ प्रतिशतले घटेको छ ।
बढेको बजारमा कुमारी बैंकको उच्च कारोबार भएको छ । सो कम्पनीको २१ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ५८ अर्ब २१ करोड १८ लाख ८० हजार ८० रुपैयाँ कायम भएको छ ।


















