चाडपर्वको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्तिका लागि जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था औपचारिक रूपमै लागू हुने भएको छ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यो व्यवस्था कार्यान्वयनमा ल्याउने सहमति जुटेको हो। यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका केन्द्रहरूमा बुझाएर मौजुद रहेको अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाउनेछन्। यसरी एकअर्का कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने निर्णय भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रहरूलाई समेटेर ४ देखि ५ स्थानमा साझा बिक्री केन्द्र (आउटलेट) मार्फत यो सेवा उपलब्ध गराइनेछ। "हामीले संयुक्त रूपमा निर्णय गरिसकेका छौँ। घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क नतिरी सिलिन्डर साट्न पाउनेछन्," नेपाल आयल निगममा भएको वार्तापछि अध्यक्ष चन्दले भने, "काठमाडौँ उपत्यकामा बजारीकरण गरिने सबै ब्रान्डका सिलिन्डर यस व्यवस्थामा समेटिएका छन्।"
यी हुन् सिलिन्डर साट्न तोकिएका स्थानहरू :
संघले प्रारम्भिक रूपमा उपत्यकाका विभिन्न भागका उपभोक्तालाई पायक पर्ने गरी पाँचवटा स्थान तय गरेको छ:
१. बालाजु : नेपाल ग्यासको आउटलेट
२. सीतापाइला : एभरेस्ट, सुगम लगायतका कम्पनीहरूको केन्द्र
३. सुकेधारा : बाबा ग्यासको बिक्री केन्द्र
४. पेप्सीकोला : सगर ग्यासको आउटलेट
५. हरिसिद्धि (ललितपुर) : श्रीराम ग्यासको केन्द्र (सम्भावित)
अध्यक्ष चन्दका अनुसार उपभोक्ताको चाप र आवश्यकता हेरेर एकाध स्थानहरू थपिन पनि सक्नेछन्।


















