गोठगाउँः आज दिउँसो साढे ३ बजे मोरङको सुन्दरहरैंचा–७ मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’बाट २४ जना कोरियाली पक्राउ परेका छन् ।

सो कलेजमा आयोजित धार्मिक प्रशिक्षण तथा कार्यक्रममा सहभागी भइरहेका बेला आज प्रहरीले २४ जना कोरियालीलाई नियन्त्रणमा लिएको हो । 

पर्यटक भिसामा आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले निगरानी बढाएको थियो । स्थानीयको उजुरीपछि विगत दुई दिनदेखि निगरानी गरिएको र अनुसन्धानका क्रममा भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । 

उनीहरू असोज २० र २१ गते काठमाडौं, विराटनगर, हुँदै आएका थिए । उनीहरू असोज २५ सम्म मोरङमा बस्ने कार्यतालिका   थियो ।

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ । उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको बताइएको छ ।

उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी छ । उनीहरुलाई विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको छ ।

यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिक पनि पक्राउ परेका थिए ।