काठमाडौं । विवादका कारण रोकिएको नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना शुरु भएको छ ।
मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि अहिले साढे ७ बजेबाट मतगणना प्रक्रिया शुरु भएको जनाइएको छ । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेद्वारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।
उम्मेद्वार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन । अहिले विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढेको बताइएको छ ।
विवाद कसरी समाधान भयो भन्ने बारेमा भने खुलाइएको छैन ।


















