विराटनगरः उत्पादन लागत घटाउन, बन्द उद्योग पुनः सञ्चालन गर्न र नेपाली उत्पादनलाई निर्यात बजारमा प्रतिस्पर्धी बनाउन उद्योगी व्यवसायीले सरकारसँग नीतिगत सुधारको माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसँगको छलफलमा उद्योग सङ्गठन मोरङका पदाधिकारीले औद्योगिक विकासमा बाधक बनेका नीतिगत तथा प्रक्रियागत जटिलता हटाउन आग्रह गरेका हुन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नयाँ लगानी आकर्षित गर्न र सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न उद्योगमैत्री नीति आवश्यक रहेको बताए ।

उनले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्न, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन र निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

राठीका अनुसार लगानीको वातावरण सुधार गर्न उद्योगीले भोगिरहेका समस्या समाधान गर्नुका साथै उत्पादन लागत घटाउने प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक छ । यसबाट औद्योगिक उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

समितिका सभापति अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका समस्या, उत्पादन लागत र लगानीको वातावरण सुधारलाई औद्योगिक विकाससँग जोडेर हेर्नुपर्ने बताए ।

उद्योगी व्यवसायीले उठाएका विषय र सुझावको अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सङ्गठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योग पुनः सञ्चालन गर्न सहज हुने नीतिगत व्यवस्था गर्न माग गरे ।

बन्द उद्योग सञ्चालनमा ल्याउन सके लगानीको उपयोग, उद्यमशीलताको संरक्षण र औद्योगिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो । सङ्गठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता बढाउँदै निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए ।

छिमेकी मुलुकका ठूला बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिए । त्यसैगरी, सङ्गठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना र सञ्चालनका क्रममा झेल्नुपर्ने प्रक्रियागत जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराए ।

अर्का उपाध्यक्ष विपिन कावराले औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए ।

छलफलमा सहभागी उद्योगीहरूले बढ्दो उत्पादन लागत, विद्युत् महसुल, औद्योगिक पूर्वाधारको अवस्था, नीतिगत जटिलता र निर्यात प्रवद्र्धनमा देखिएका चुनौतीबारे सभापति अन्सारीको ध्यानाकर्षण गराएका थिए ।

उद्योग सञ्चालन सहज बनाउने, नयाँ लगानी आकर्षित गर्ने र नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले नीतिगत सुधार गर्नुपर्नेमा उद्योगीहरूले जोड दिएका छन् ।