इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय पछाडि कुबेर चोक नजिकै ‘मकालु अर्गानिक मार्केट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चर्चित हास्यकलाकार ‘फुलन्देकी आमा’ अर्थात् उमेश राईले रिबन काटेर मार्केटको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कलाकार राईले मकालु अर्गानिक मार्केटको सफलताको शुभकामना व्यक्त गरे ।

मार्केटका सञ्चालक भोगेन्द्र याम्फु राईका अनुसार मार्केटमा विशेषगरी पहाडी तथा हिमाली भेगमा पाइने मौलिक र अर्गानिक खाद्यवस्तु उपलब्ध गराइनेछ । उपभोक्तालाई स्वस्थकर, गुणस्तरीय र स्थानीय स्वादका खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउनु मार्केटको मुख्य उद्देश्य रहेको उनले बताए ।

‘मकालुदेखि विश्वसम्म’ भन्ने सोचका साथ अघि बढेको मार्केटमा पहाडी भेगमा पाइने असला माछादेखि विभिन्न प्रकारका अर्गानिक खाद्यवस्तु उपलब्ध हुने सञ्चालक राईले जानकारी दिए ।

दशैंतिहारलगत्तै मोरङको गछियामा समेत मकालु अर्गानिक मार्केटको शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै एसएस क्याफे एन्ड रेस्ट्रोका सञ्चालक सुमन याख्खा, सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजु राईलगायतले मकालु अर्गानिक मार्केटको सफलताको कामना गरे ।