गछियाः नेपाली कांग्रेस सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ को आयोजनामा गछिया बजारमा मंगलबार रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २३ पिन्ट रगत सङ्कलन भएको वडा सभापति जीवनप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धरानमा रगतको अभाव देखिएकाले बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । नेपाली कांग्रेसका नेता किशोर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापति होमनाथ पोखरेलले नगरका हरेक वडामा पार्टीलाई सक्रिय बनाउँदै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

नेपाली कांग्रेस सुन्दरहरैंचा–३ की सचिव रीता दाहालले रक्तदानजस्ता सामाजिक कार्यले मानवीय सेवा, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने बताउनुभयो ।