बेलटार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले दशैं मनाउन सहज होस् भन्ने उद्देश्यले मुसहर (सदा) समुदायका २२८ विपन्न परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले दशैं खर्च उपलब्ध गराएको छ ।

दैनिक गुजारा चलाउनसमेत कठिन हुने मुसहर समुदायका परिवारलाई चाडपर्व मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम वितरण गरेको जनाएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको यो कार्यक्रम देशका ७५३ स्थानीय तहमध्ये मुसहर समुदायलाई लक्षित गरी पहिलोपटक शुरु गरिएको पालिकाको दाबी छ ।

‘चौदण्डीगढी नगरपालिकाको मुसहर (सदा) समुदायलाई दसैँ खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ बनाएर रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशनीदेवी कार्कीले जानकारी दिनुभयो ।

सोमबार आयोजित कार्यक्रममा वडा नं. ५ का १००, वडा नं. ९ का ४४ र वडा नं. १० का २३ परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

वडा नं. २ का ६१ परिवारलाई मंगलबार रकम उपलब्ध गराउने बताइएको छ ।
रकम हस्तान्तरण गर्दै नगरप्रमुख कालुमान लामाले मुसहर समुदायको आर्थिक अवस्था र चाडपर्व मनाउन भोग्नुपरेको कठिनाइलाई ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

नगरप्रमुख लामाका अनुसार नगरपालिकाले मुसहर समुदायका बालबालिकालाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

पालिकाको सामाजिक शाखाका अनुसार नगरपालिकाभित्र ५१५ महिला र ५०९ पुरुष मुसहर (सदा) समुदायको बसोबास छ ।

कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, नगर प्रवक्ता एवं वडा नं. ९ का अध्यक्ष प्रकाश राउत, वडा नं. ५ का अध्यक्ष तुलसीराम ढकाल, वडा नं. १० का अध्यक्ष धर्मराज खड्कालगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो ।