इनरुवा ।  सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट ९.५७ ग्राम  ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यात्रुवाहक सिटी सफारीलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको थियो। सफारीमा सवार व्यक्तिहरूमाथि शंका लागि खानतलासी गर्दा प्लास्टिकको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र इनरुवा नगरपालिका–८ का १९ वर्षीय ‘लम्फु’ भन्ने साहदिन हुसेन रहेका छन्।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन्।