काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलमा काठमान्डु गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमा समेटिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको हो । काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनले दुवै ओपनर साम र पटेलसहित कप्तान करण र आदिल आलमको विकेट लिएका थिए । सैफ हसनले २, मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एकएक विकेट लिए ।
ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । काठमान्डुले खेलभर नै ठूलो साझेदारी बनाउन सकेन । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए ।
त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट हुँदा मोहम्मद आदिल आलम पहिलो बलमै एनबीडब्लुको शिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।
खेल जारी छ ।


















