फिदिमः पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिम्बुङपोखरीमा हिमपातपछि मौसम खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ । केही दिनको लगातार वर्षा र हिमपातपछि कात्तिक १५ गते बिहानदेखि मौसममा सुधार आएसँगै हिउँमा रमाउन र मनोरम हिमाली दृश्यावलोकन गर्न पर्यटक पुग्न थालेका हुन् ।


समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित तिम्बुङपोखरी पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ को सिमानामा पर्छ । यस क्षेत्रमा कात्तिक १२ गतेदेखि शुरु भएको वर्षा र हिमपात १४ गते साँझसम्म जारी रहेको थियो ।


हिमपातपछि पोखरी आसपासका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन् । मौसम खुलेसँगै सेताम्मे हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न र हिउँमा रमाउन पर्यटकको आगमन बढेको हो । डाँफे, मुनाललगायत हिमाली चराचुरुङ्गी तथा वन्यजन्तु देखिन थालेपछि यस क्षेत्रको आकर्षण थपिएको छ ।