काठमाडौं । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्दै जारी सिजनमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । 


साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको हो । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । 

रोहित पौडेलले अविजित ४७ रन र निरोशान डिकवेलाले अविजित २७ रन बनाउँदै तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका छन् ।

पोखरा एभेन्जर्स ९ विकेटमा ९७ रनमै समेटिँदै लगातार तेस्रो हारपछि अंकविहीन बनेको छ ।

पोखराका चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए भने लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेको हो ।