उर्लाबारीः  प्रहरीले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा सञ्चालित मोबाइल जोन पसलमा तास खेलेर बसिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

सो पसलभित्र तास खेलिरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले राति करिब साढे ११ बजे छापा मारेको थियो । प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको  साथबाट प्रहरीले पाँच बुङ तास र १२ हजार ६२२ रुपैयाँ नगद बरामद गरेको छ । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का जलन ठटाल, सुभाष शर्मा र रोशन शर्मा छन् । 

वडा नम्बर ८ का सुमन ढकाल, निरोज धिमाल, कमल ढुंगाना र किरण ढुंगाना पनि पक्राउ परेका छन् ।

झापाको दमक नगरपालिका–७ का विनोद ढकाल, वडा नम्बर ५ का दीपक चौधरी र मोबाइल जोनका सञ्चालक रतुवामाई नगरपालिका–९ का विवेक बराललाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।