काठमाडौं । लुम्बिनी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स ९७ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेको हो ।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमा ७, बिपिन आचार्य १, शकिब अल हशन ३, अर्जुन घर्ती ६ रनमा आउट भए । बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।
पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तिलक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट लिएका थिए ।


















