काठमाडौंः नेपाल धितोपत्र बोर्डले नेप्से सूचकाङ्कको पुनसंरचना गरी कारोबारयोग्य शेयरको बजार पूँजीकरणमा आधारित नयाँ बेञ्चमार्क सूचकाङ्क विकास गर्ने प्रस्ताव गरेको छ । बोर्डले धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनसंरचना सम्बन्धी कार्यपत्र, २०८३ तयार गरी सरोकारवालासँग सुझाव मागेको हो ।
प्रस्तावित व्यवस्था कार्यान्वयन भए हालको नेप्से सूचकाङ्कलाई यथावत राखेर समग्र सूचीकृत शेयरको मूल्यगत अवस्था मापन गर्ने सूचकका रूपमा विकास गरिनेछ भने कारोबारयोग्य शेयरका आधारमा छुट्टै बेञ्चमार्क सूचकाङ्क गणना गरिनेछ ।
नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते जारी गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को बुँदा नम्बर ६ मा नयाँ आधारभूत सूचकाङ्क २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउने उल्लेख छ । सोही कार्ययोजनाअनुसार बोर्डले सूचकाङ्कको पुनर्संरचनासम्बन्धी कार्यपत्र सार्वजनिक गरेको हो । बोर्डले प्रस्तावित कार्यपत्रमा २०८३ कात्तिक १५ गतेभित्र सुझाव दिन सरोकारवालालाई अनुरोध गरेको छ ।
हाल नेप्से सूचकाङ्क गणना गर्दा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरणलाई आधार बनाइन्छ । यसमा संस्थापक, सरकारी स्वामित्व र लक–इनमा रहेका शेयरसमेत समावेश हुन्छन् । यस्ता शेयरमध्ये कतिपय दैनिक कारोबारका लागि उपलब्ध हुँदैनन् । तर तिनको बजार मूल्यले सूचकाङ्कमा प्रभाव पार्ने भएकाले बजारमा वास्तविक रूपमा कारोबार गर्न उपलब्ध शेयरको अवस्थालाई सूचकाङ्कले पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने समस्या रहेको कार्यपत्रमा उल्लेख छ ।
यसको समाधानका लागि हालको नेप्से सूचकाङ्कका रूपमा पुनर्परिभाषित गर्ने र कारोबारयोग्य फ्री–फ्लोट शेयरको बजार पूँजीकरणमा आधारित विकास गर्ने प्रस्ताव गरिएको छ । यसबाट समग्र सूचीकृत शेयर बजारको अवस्था र लगानीका लागि वास्तवमै उपलब्ध शेयरको मूल्यगत प्रदर्शन छुट्टाछुट्टै मापन गर्न सकिनेछ ।
नयाँ बेञ्चमार्क सूचकाङ्क गणना गर्दा संस्थापक, सरकारी स्वामित्व, रणनीतिक स्वामित्व तथा लक–इनमा रहेका कारोबार गर्न नमिल्ने शेयरलाई फ्री–फ्लोटबाट अलग गरिनेछ । त्यसपछि कारोबारयोग्य शेयरको अनुपातका आधारमा कम्पनीको सूचकाङ्कमा पर्ने भार निर्धारण गरिनेछ । कार्यपत्रमा फ्री–फ्लोटको अनुपातअनुसार ०.०५ देखि १.०० सम्मका फ्याक्टर प्रस्ताव गरिएको छ । यसको अन्तिम वर्गीकरण भने कम्पनीको वास्तविक स्वामित्व संरचना, कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि निर्धारण गर्न सकिने उल्लेख छ ।
कार्यपत्रमा नयाँ सूचकाङ्कले संस्थागत लगानीकर्ताको लगानी प्रदर्शन मापन गर्न, सामुहिक लगानी कोष तथा इन्डेक्स फन्डको विकास गर्न र भविष्यमा एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा डेरिभेटिभ्सजस्ता वित्तीय उपकरणको विकासका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ । यसले विदेशी संस्थागत लगानीकर्तालाई नेपालको लगानीयोग्य शेयर बजारको अवस्था विश्लेषण गर्नसमेत सहज बनाउने लक्ष्य राखेको छ ।
नयाँ सूचकाङ्कको गणना तथा कार्यान्वयनका लागि कम्तीमा छ महिनासम्म हालको नेप्से सूचकाङ्क, फ्लोट सूचकाङ्क र प्रस्तावित बेञ्चमार्क सूचकाङ्क समानान्तर रूपमा गणना गर्ने प्रस्ताव छ । यस अवधिमा सूचकाङ्कको मूल्य, समावेश कम्पनी, कम्पनीगत भार, बजारको प्रतिनिधित्व, कारोबारको हिस्सा र उतारचढावको अध्ययन गरिनेछ । ऐतिहासिक तथ्याङ्कमा आधारित परीक्षण तथा सार्वजनिक परामर्शपछि नयाँ सूचकाङ्कलाई औपचारिक रूपमा लागू गर्ने प्रस्ताव कार्यपत्रमा छ ।
यद्यपि, फ्री–फ्लोटका आधारमा सूचकाङ्कको भार परिवर्तन हुँदा केही कम्पनीको प्रभाव घट्ने र केहीको बढ्ने सम्भावना छ । त्यसैले नयाँ सूचकाङ्कको सुरुआती मूल्य हालको नेप्से सूचकाङ्कभन्दा फरक हुन सक्ने तथा एउटामा वृद्धि हुँदा अर्कोमा गिरावट देखिन सक्ने जोखिमसमेत कार्यपत्रमा औँल्याइएको छ । स्वामित्वसम्बन्धी तथ्याङ्कको विश्वसनीयता, पारदर्शी गणना विधि र लगानीकर्ता सचेतनालाई यसको सफल कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको छ ।
बोर्डको प्रस्तावअनुसार यो पुनसंरचना हालको नेप्से सूचकांक हटाउने नभई त्यसको उद्देश्य स्पष्ट पार्दै समग्र बजार मापन र लगानीयोग्य बजार मापनका लागि छुट्टाछुट्टै सूचकाङ्क विकास गर्ने प्रक्रिया हो । प्रस्तावित व्यवस्था अन्तिम रूपमा स्वीकृत भई कार्यान्वयनमा आएपछि नेपालको धितोपत्र बजारको मूल्यगत अवस्था मापन गर्ने पद्धतिलाई थप यथार्थपरक र अन्तर्राष्ट्रिय स्तरको हुनेमा विश्वास गरिएको छ ।


















