काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सकेको हो ।
कर्णालीका लागि दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । मिलरले अन्तिम ओभरमा इशान पाण्डेको बलमा चार छक्का प्रहार गरे । तर, त्यसबेलासम्म खेल सुदूरपश्चिमको पक्षमा पुगिसकेको थियो । कर्णालीको सुरुवात निकै खराब रहेको थियो ।
टस जितेर पहिले बलिङ रोजेको कर्णालीविरुद्ध सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाएका थिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे ।

















