काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो भएको दोस्रो खेलबाट काठमान्डु गोर्खाजले दोस्रो जीत निकालेको छ । 

काठमान्डुले विराटनगरलाई ९ विकेटले हराएको हो  । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै १ विकेट गुमाउँदा पूरा गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भएको थियो । विराटनगरले पावरप्लेमा ३ विकेट गुमाएर २३ रनमात्रै बनायो । १० ओभर सकिँदा विराटनगर ७ विकेट गुमाएर ३७ रनको स्थितिमा थियो ।

रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्जेलो म्याथ्युजले २२ रन जोडे । विराटनगरका तर्फबाट खेलेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल ३ रनमात्रै जोडेर पभेलियन फर्किए ।

लोकेश बमको ब्याट आज भने चल्न सकेन । उनले १० बलमा ६ रनमात्रै जोडे । बसिर अहमदले १० रनमात्रै बनाए ।

विराटनगरको इनिङ्स ध्वस्त पार्न काठमान्डुका सन्तोष यादवले तीन तथा सहन आरच्चिगेले दुई विकेट लिए । करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक एक सफलता हात पारे ।

५ खेल खेलेको विराटनगरको यो तेस्रो हार हो भने ३ खेलमा काठमान्डुले दुई जीत र एक हार बेहोरेको छ ।

विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो । 

तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको विराटनगर चौथो खेलमा जनकपुर बोल्ट्समाथि २ रनले विजयी भएको थियो । 

काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कर्णालीलाई ४ विकेटले हराएको थियो ।