काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले २ खेल जित्दा एउटा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर र तेस्रो खेलमा जनकपुरलाई हराएको थियो । 

सुदूरपश्चिम भने अंक तालिकाको छैटौं स्थानमा छ । चार खेल खेलेको उसले २ मा जीत र २ मा हार बेहोरेको छ । सुदूरपश्चिमले पहिलो खेलमा चितवनलाई हराउँदै पहिलो जीत निकालेको थियो भने दोस्रो खेलमा विराटनगरसँग पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा पोखरालाई हराएको सुदूरपश्चिम आप्mनो चौथो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिष्पर्धा हुनेछ । 

तीन खेलमध्ये एकमा जीत, एकमा हार र वर्षाका कारण एक खेल रद्द हुँदा बराबरी अंक बाडेर चितवन अंक तालिकाको सातौं स्थानमा छ । चितवन आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो भने लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने उसले विराटनगरविरुद्ध पहिलो जीत निकालेको थियो ।

पोखरा पहिलो खेलमा लुम्बिनी, दोस्रो खेलमा जनकपुर र तेस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको पोखरा आजको खेलमा पहिलो जीत निकाल्ने दाउमा छ ।