विराटनगर । मोरङको रतुवामाईमा ग्यास चुहिएर भएको आगलागीमा जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।
रतुवामाई नगरपालिका–९ भौडा टोलकी भट्टराईको कीर्तिपुरस्थित बर्न अस्पतालमा आइतबार बिहान पौने बजे मृत्यु भएको हो ।
उनलाई गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।
गत कात्तिक २४ गते लोकनाथ भट्टराईको घरको भान्सामा ग्यास चुहिएर आगलागी हुँदा सुरक्षा जलेर घाइते भएकी थिइन् ।
शुरुमा उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर लगिएको थियो ।
सो आगलागीबाट भान्सामा रहेका सामानसहित घरका विभिन्न सामग्री जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


















