काठमाडौं । जारी एनपीएलको लिग चरणका खेलहरू सम्पन्न भएका छन् । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको शानदार बलिङमा पोखरा एभेञ्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गर्न सफल भएको छ ।
पोखरा एभेञ्जर्सले एनपीएलकै ठूलो स्कोर बनाउने क्रममा २२४ रन जोडेको थियो । पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । पोखराका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ र रासिद खानले ३१ रन बनाए ।
ठूलो स्कोर पछ्याउने क्रममा ओपनिङमा आएका भीम सार्की टिमको स्कोर १२ रन हुँदा दोस्रो ओभरमै आउट भए । त्यसपछि ओपनर स्मित पटेलले विलियम बोसिस्टोसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ।
तर पोखराका दिनेश खरेलले पटेललाई आठौं ओभरको अन्तिम बलमा आउट गर्दै साझेदारी तोडे । पटेलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । बोसिस्टो पनि १०औं ओभरमा खरेलकै बलमा आउट भए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडे । सहान अराचिगे १ रनमा आउट हुँदा काठमान्डुले ८६ रनमा ५ विकेट गुमाएको थियो ।
त्यसपछि रासिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर जहानदादलाई रमेश मेन्डिसले १५ औं ओभरमा आउट गर्दै साझेदारी तोडे । जहानदादले १२ बलमा ३ छक्का प्रहार गर्दै २४ रन जोडे । रासिद खानले २० बल खेल्दै ३ चौका र २ छक्का मदतमा ३१ रन बनाए । त्यसपछि सन्तोष यादव र कप्तान करण केसी खाता नखोली आउट भए । सुमित महर्जन ३ रनमा आउट भए ।
अन्तिम खेलाडीको रूपमा आउट भएका सोनु देवकोटाले अन्तिम ओभरमा युवराज सम्रालाई लगातार चार छक्का प्रहार गर्दै २९ रन जोडेर आउट भए ।
बलिङमा पोखराका दिनेश खरेलले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले १–१ विकेट लिए ।
त्यसअघि कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रामक ब्याटिङमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।
पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बन्यो । यसअघि कर्णाली याक्स विरुद्ध पोखराले २१७ रन बनाएको थियो ।
पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले मात्र चुके । उनले सर्वाधिक ९९ रन बनाए । ५१ बल खेलेका भुर्तेलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८९ रन बनाए ।
ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि कुशल भुर्तेल क्रिजमा पुगेका थिए । त्यसपछि ओपनर सम्रा र भुर्तेलले आक्रमक ब्याटिङ गर्दै पोखराको स्कोर २०० कटाएका हुन् ।
कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । एनपीएलमा यो अहिलेसम्मको ठूलो साझेदारी हो । यसअघि सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्स विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।
कप्तान चमिका करुणारत्नेले ७ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित १९ रन बनाए । धनन्जय लक्षण २ रनमा अविजित रहे ।
काठमान्डुका कप्तान करण केसीले १९औं ओभरमा कुशल र युवराज दुवैलाई आउट गरेका थिए । कप्तान करणले २ तथा जहानदाद खानले १ विकेट लिए ।
पोखराले शानदार जीत हासिल गरे पनि प्लेअफमा भने स्थान बनाउन सकेन । पोखराले आजसहित लिग चरणमा दोस्रो जीत निकाल्दै ७ खेलबाट ४ अंक जोडेर अन्तिम स्थानमा रहन पुग्यो ।
आजको हारसँगै काठमान्डु लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नुपर्ने भएको छ । काठमान्डुले क्वालिफायर पुग्नका लागि अब बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो र सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
पहिलो क्वालिफायर खेल मंगलबार हुनेछ ।


















